ग्याष्ट्रिक के हो, किन हुन्छ ग्याष्ट्रिक, यदि ग्याष्ट्रिक भइहालेमा के खाने ? जानकारी लिनुहोस्

काठमाडौं, १८ फागुन । प्राय सबै मानिसलाई कुनै न कुनै किसिमको ग्याष्ट्रिक हुने गरेको छ । मानिसहरूले यसलाई सामान्य रुपमा लिन्छन् । तर, यसकोे समयमै ख्याल नगरेमा अल्सर र अल्सरबाट क्यान्सर हुने सम्भावना प्रवल रहन्छ । त्यसपछि मानिसको जीवनलाई नै खतरामा ढाल्दिन्छ । त्यसकारण ग्याष्ट्रिकलाई सामान्य रुपमा नलिइकन प्रारम्भिक चरणदेखि नै यसको रोकथाम गर्नु पर्छ । आज हामी तपाइँलाई ग्याष्ट्रिक के हो, यसका कस्ता लक्षण हुन्छन् र यदि ग्याष्ट्रिक भइहालेमा कस्ता -कस्ता खाने कुरा खान उपयुक्त हुन्छ भन्ने बारेमा तपाइँलाई जानकारी दिने छौं ।

के हो त ग्याष्ट्रिक ?

हाम्रो पेटको ग्याष्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्याष्ट्रिक रस निष्कासन गर्छ, र सो रस सामान्यभन्दा बढी निष्कासन भयो भने अथवा अन्य कुनै कारणबस पेटमा बढी एसिड जम्मा भयो भने ग्याष्ट्रिक हुने गर्दछ ।

ग्याष्ट्रिक धेरै चिन्ता गर्ने, तनाव लिने तथा बढी पिरो, अमिलो, मसालेदार पदार्थ, चिया–कफी, रक्सी–चुरोट पिउने, ठीक समयमा नखाने आदि कारणले हुने गर्दछ ।

ग्याष्ट्रिकका लक्षणहरू:

पेट, छाती र घाँटीमा जलन हुनु, अमिलो डकार वा पानी आउनु ग्याष्ट्रिकको मुख्य लक्षण रहेको पाइन्छ । यसको अरु लक्षणहरुमा कहिलेकाहीँ बान्ता हुनु, कब्जियत हुनु, भुँडि ढाडिनु, टाउको दुख्नु थप लक्षणहरु हुन् ।

ग्याष्ट्रिक हुँदा के खाने ?

१. कार्बोहाइड्रेट कम खाने– पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

२. कागती पानी खाने– पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।

३. दूध नखाने तर दही खाने–ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही खानु राम्रो हुन्छ ।

४. समयमा खाना खाने– ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ ।

५. पानी प्रशस्त खाने– लगातार पानी खाँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जीउमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रिङ्क्स खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् ।

६. लसुन खाने– बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।