नियतिको खेल पनि सार्है अचम्मको ! आङछिरिङको परिवारमा हेलिकोप्टर दुर्घटनाको दुःखद् संयोग : दाजुभाई हेलिकप्टर दुर्घटनामा बिते, भाउजु पासाङ ल्हामू शेर्पा सगरमाथा चढेर फर्कने क्रममा बितिन् !!

काठमाडौं, १८ फागुन । पर्यटन तथा उड्ययन व्यवसायी आङछिरिङ शेर्पाको परिवारमा दुर्घटना एउटा दुखद संयोग बनेर आइरह्यो । जसले उनको कान्छा भाइलाई पनि हेलिकप्टर दुर्घटनामै गुमाएका थिए, अन्तमा उनको पनि हेलिकप्टर दुर्घटनामै प्राण पखेरु उड्यो । यति मात्र होइन उनकी भाउनु पासाङ ल्हामू शेर्पाको पनि दुर्घटनामै ज्यान गयो ।

बुधबार दिउँसो ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोलामा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसहित सात जना ज्यान गुमाउनेमा शेर्पा पनि परे ।

‘ओहो, आङछिरिङ पनि रहेछन् त्यो हेलिकप्टरमा?, उनका कान्छा भाइ पनि हेलिकोप्टरमा वितेका हुन्’, अर्का एक पर्यटन व्यवसायीले दुर्घटनाको समाचारपछि यही आङछिरिङको पारिवारिक जीवनमै आइपरेको दुर्घटना संयोगबारे भने, ‘उनकी भाउजु पासाङ ल्हामू शेर्पाको पनि सगरमाथा आरोहपछि फर्कदाँ दुर्घटनामै मृत्यु भएको थियो ।’

दुर्घटनामा मृत्यु भएका ६० बर्षिय आङछिरिङ एयर डाइनेस्टिको हेलिकोप्टर कम्पनीका अध्यक्ष समेत हुन् । यसमा उनको व्यवसायीक साझेदारी छ ।

छिरिङका तीन दाजु भाइ मध्ये कान्छा भाइ टेण्डी शेर्पाको पनि २०५५ सालमा रेस्क्यू गर्न जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी ज्यान गएको थियो ।

उनका जेठा दाजु लाक्पा सोनाम शेर्पा पनि कहलिएका पर्यटन व्यवसायी हुन् । उनैले अहिले थामसेर्कु ट्रेकिङ कम्पनीको अगुवाइ गरिरहेका छन् । यती एयरलाइन्स अध्यक्ष पनि उनै सोनाम लाक्पा हुन् ।

आङछिरिङ यती एयरलाइन्सका प्रबन्ध निर्देशक थिए । आङछिरिङ १९८८ सम्म एउटा पर्यटन व्यवसायमा पर्यटकको सहयोगीका रुपमा काम गर्थे ।

उनले सन् १९८८ मा थामसेर्कु ट्रेकिङ कम्पनी खोल्दै नेपालको पर्यटन व्यवसायमा प्रवेश गरे ।

आङछिरिङको जन्म सन् १९५८ मा सोलुखुम्बुको खरी खोला पाङगोम भने ठाँउमा भएको थियो । छिरिङको अहिले एभरेष्ट रिजनमा ८ वटा माउन्ट यती होम चेन होटल सञ्चालनमा छन् भने काठमडौंमा गोकर्ण रिर्सोट पनि सञ्चालनमा छ ।

यसबाहेक आङछिरिङको लगानीमा पोखरा, चितवन, घान्द्रुक, बन्दीपुर र मुस्ताङमा होटल सञ्चालमा छन् ।

पछिल्लो समय आङछिरिङले एयरलाइन्स व्यवसायमा पनि तिब्र रुपमा आफ्नो लगानी बढाएका थिए ।

आङछिरिङ अहिले आन्तरिक उडानमा दोस्रो बढी बजार हिस्सा ओगट्न सफल यती एयरलाइन्सका मालिक थिए । यसबाहेक दुर्गमका हवाई सेवा प्रदान गर्दै आएको तारा एयर र बुधबार दुर्घटना भएको हेलिकोप्टर कम्पनीका अध्यक्ष समेत थिए उनी ।

आङछिरिङकै साझेदारी रहेको हिमालय एयरलाइन्सले अहिले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

आङछिरिङका पासाङ र नुर्वु गरी दुई छोरा छन् ।