अझै भेटिएन रविन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल, नेपाली सेनाद्वारा खोजि कार्य जारी

काठमाडौँ, १८ फागुन । बुधबार दिउँसो ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भैसकेका मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको पेस्तोल खोज्ने क्रममा नेपाली सेनाको टोलि अहिले सम्म पनि घटनास्थलमै रहेको छ ।

घटनास्थलमा अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला नपरेपछि नयाँ रणभीम गुल्मका सेनाहरु लगातार घटनास्थलमा खटिएका हुन् ।

पेस्तोल खोज्दै गरेको सेनाको टोलिले घटनास्थललाई सुरक्षित राख्ने काम पनि गरिरहेको बताइएको छ ।

शव संकलन पछि मात्रै सुरक्षा निकायको पेस्तोलमा ध्यान गएको हो । सेना अधिकारीहरुका अनुसार पेस्तोल हत्तपत्त नजल्ने र ध्वस्त पनि नहुने हुँदा पेस्तोलको खोजि कार्य भैरहेको छ ।

घटनास्थलमै पेस्तोल रहेको हुन सक्ने र अन्य व्यक्तिहरुले भेटेमा दुरुपयोग गर्ने सम्भावना रहने हुँदा सेनाको टोलि पेस्तोल खोजिमा जुटेको जनाइएको छ ।