‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ, ८ माघ । भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले आज ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई÷तीन दिन घरमै आराम गर्न सुझाव दिएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहनुभएको छ ।

यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आजै सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

अध्यक्ष दाहालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी तीन दिनदेखि सुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र चाडै उहाँ निवास फर्कने प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो । रासस

प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण

काठमाडौं, ८ माघ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारलाई भाइरल ज्वरोले सताएको छ । प्रचण्ड परिवारका तीन जना एकै पटक अस्पताल भर्ना भएका छन् ।

श्रीमती सीता तीन दिनदेखि आईसियुमा राखेर उपचार भइरहेको छ । नातिनी स्मिता दाहाल पनि केही दिनअघि अस्पताल भर्ना भएकी थिइन् । साथै प्रचण्डकी बुहारी तथा खानेपानी तथा सरसफाई मन्त्री बिना मगर पनि मंगलबार अस्पताल भर्ना भएकी छिन् । नाक र घाँटीमा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।

उनलाई रुघाखोकी र भाइरल ज्वरोले सताएको छ । उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको छ । तीनै जनालाई मौसमी भाइरलले सताएको छ । पछिल्लो समय उपत्यकामा रुघाखोकी र मौसमी ज्वरोको प्रकोप बढेको छ । समयमा उपचार नहुँदा केहीको मृत्यु समेत भएको छ ।