लागुऔषधसहित नागढुङ्गाबाट चार जना पक्राउ

काठमाडौँ, ८ माघ। प्रहरीले नागढुङ्गाबाट आज लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेकपोष्टमा गाडी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा पोखरीया नगरपालिका–४ का १८ वर्षीय अभिनाश यादव, गोकर्णेश्वर नगरपालिका–७ का २२ वर्षीय विजय भारती, काठमाडाँै बूढानीलकण्ठ नगरपालिकाका २१ वर्षीय सुदिप ठकुरी र २४ वर्षीय राजु गिरी रहेका छन् ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ६५४४ नं को बसलाई जाँच गर्ने क्रममा पक्राउ परेका यादवको साथबाट अवैध लागुऔषध डाइजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल र नुर्फिन १०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८३२३ नं को यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बिहान पक्राउ परेका भारतीको साथबाट नाईट्राभेट १५० ट्याबलेट तथा ठकुरी र गिरीको साथबाट डाईजेपाम, फेनरागन र नुर्फिन गरी ७५ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । रासस