स्पेनिस ला लिगा : शीर्षस्थानको बार्सिलोना अझै बन्यो बालियो, लेगानेसलाई हरायो ३-१ गोल अन्तरले

एजेन्सी, ७ माघ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले शिर्ष स्थान कायमै राख्न सफल भएको छ ।

गए राति घरेलु मैदानमा भएको खेलमा लेगानेसलाई ३-१ ले पराजित गर्दै अंक तालिकाको आधारमा शिर्ष स्थान अझै सुरक्षित बनाएको हो ।

बार्सिलोनाको जितमा ओस्माने डेम्बेले, लुइस स्वारेज र लियोनल मेस्सीले एक/एक गोल गरे ।

खेलमा ७१ प्रतिशत पोजेसन राख्दै हावी रहेको बार्सिलोनाका लागि ३२ औं मिनेटमा डेम्बेलेले अग्रता दिलाए । पहिलो हाफमा पछि परेको भ्रमणकारी टोलीका लागि मार्टिन ब्राइथवेटले ५७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

बार्सिलोनाका उरुगेली फरवार्ड स्वारेजले ७१ औं मिनेटमा पुनः बार्सिलोनालाई अग्रता दिन सफल भए । दोस्रो हाफमा ६४ औं मिनेटमा कार्लेस एलेनाको स्थानमा मैदान प्रवेश गरेका मेस्सीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

बार्सिलोनाले जितसंगै अंक तालिकामा ५ अंकको अग्रता बनायो । २० खेलमा १४ जित र ४ बराबरीका साथ बार्सिलोनाको ४६ अंक छ भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४१ अंक र तेस्रो स्थानको रियल म्याड्रिडको ३६ अंक रहेको छ ।