बम दिदीबहिनीले किन छाडे कञ्चनपुर ?

काठमाडौं, ५ माघ । कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी आरोपित भएपछि असुरक्षित भएको भन्दै रोशनी बम र उनकी दिदी बबिता बमले कञ्चनपुर छोडेका छन् ।

हत्या भएको दिन निर्मला बम दिदीबहिनीको घर गएको आधारमा सञ्चारमाध्यम र अधिकारीवादीको नजरमा उनीहरु दोषी ठहरिएका थिए साथै केहि दिन जेल समेत बसेका थिए ।

आमा इन्दिरा दुई छोरीको सुरक्षा माग्दै राजधानी आएकी छन् । काठमाडौं पुगेपछि एक सञ्चारमाध्यमसँग कुरा गर्दै बम दिदीबहिनीले कञ्चनपुरमा बारम्बार धम्की आएपछि राज्यसँग न्याय र सुरक्षा माग्न काठमाडौं आएको बताएका छन् ।

सञ्चारमाध्यम र मानवअधिकार वादी संगठनका प्रतिवेदनमा दुई दिदीबहिनीलाई आरोपित गरिएपछि धेरैजसोको उनीहरुमाथि नकरात्मक धारणा बनेको छ । यसपछि नै उनीहरुले आफुहरुमाथि ज्यान मार्ने धम्की आएको बताएका छन् ।

निर्मलाकी साथी रोशनी सो घटनापछि विद्यालयसमेत गएकी छैनन् । उनी नौ कक्षामा अध्यायनरत थिइन् ।

एक सञ्चारमाध्यमसँग कुरा गर्दै बम दिदीबहिनीले कञ्चनपुरका एक पत्रकार र दुई महिला अधिकारवादीले आफुहरुलाई धम्की दिएको बताएकी छन् ।

रोशनीले भनेकी छन्, ‘निर्मला त मरेर गई, हामी जिउँदै मारिएका छौं ।’