चौधौँ संस्करणको ढोरपाटन महिला भलिबल च्याम्पियनशिप शनिबारदेखि हुने

काठमाडौँ, ४ माघ । चौधौँ संस्करणको ढोरपाटन महिला भलिबल च्याम्पियनशिप शनिबारदेखि हुने भएको छ ।

आयोजक ढोरपाटन स्पोर्टस क्लबले आज यहाँ पत्रकार सम्मेलन गर्दै शनिबारदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा यही माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीयसहित नौ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनशिपमा नेपाल एपिएफ क्लब, न्यू डायमण्ड एकेडमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, श्री गाउँ स्पोर्टस विकास कमिटी, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, सेब स्कूल र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन् । विजेताले रु तीन लाख ५० हजार, उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख पुरस्कार पाउनेछन् । यस्तै चौथो हुनेलाई रु ६० हजार, पाँचौँ हुनेलाई रु ४० हजार, छैटाँै हुनेलाई रु ३० हजार तथा सातौँ हुने टोलीले रु २० हजार पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।

शनिबार मकवानपुर र सेब स्कूल तथा त्रिभुवन आर्मी क्लब र श्री गाउँ खेलकूद विकास समिति दाङबीच खेल हुनेछ । पोखराको ज्ञानुबाबा स्कूल र विभागीय नेपाल एपिएफ क्लबले अहिलेसम्म पाँच÷पाँच पटक उपाधि जितेका छन् । ज्ञानुबाबा दोस्रोदेखि छैटाँै संस्करणसम्म तथा साताँै संस्करणमा पुलिस क्लब, ११औँ संस्करणसम्म एपिएफ, १२औँ संस्करणमा रिड मोडल तथा १३औँ संस्करणमा एपिएफ च्याम्पियन बनेको थियो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक÷एक थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई रु छ÷छ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । रासस