बीपीएल : सन्दिपले आज पनि लिए १ विकेट

काठमाडौं, ४ माघ । नेपाली गुगली ब्वाई सन्दीप लामिछानेले बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा आज पनि विकेट लिएका छन् ।

सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले ढाका डाइनामाइट्सविरुद्ध शुक्रबार ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर १ विकेट लिएका हुन् ।

सन्दीपले आफ्नो पहिलो ओभरमा विकेट लिए पनि त्यसपछिको ओभरमा महंगा साबित भए । उनले पहिलो ओभरको तेस्रो बलमा रोनी तालुकदारलाई १३ रनमा बोल्ड आउट गरेका थिए । यस क्रममा सन्दीपले पहिलो ओभरमा ३ रन मात्रै खर्चेका थिए ।

आफ्नो दोस्रो ओभरमा एक चौकासहित ८ रन खर्चिएका सन्दिपले तेस्रो ओभरमा तीन चौकासहित १२ रन खर्चिए । अन्तिम ओभर ४ रन मात्र खर्चिए पनि विकेट लिन सकेनन् ।
यो सँगै सन्दिपले बिपीएलमा ४ विकेट लिइसकेका छन् ।

सिलेटमा जारी खेलमा सिक्सर्सले दिएको १५९ रनको लक्ष्यसहित अहिले डाइनामाइट्सले ब्याटिङ गरिरहेको छ ।