सारेगमप लिटल च्याम्सको स्टेजमा नेपाली बाबु पृतम आचार्यले मच्च्याए तहल्का !

काठमाडौं, ४ माघ । नेपालमा विभिन्न बहुप्रतिभाशाली व्यक्तिहरुले भारतको रियालिटी शोहरुमा तहल्का मच्च्याएका छन् । प्रशान्त तामाङदेखि बाल गायक पृतम आचार्य सम्म आइपुग्ने भारतीय स्टेजबाट नेपाल र नेपालीले ठुलै नाम कमाइसकेका छन् ।

केही समयअघि मात्र कास्कीकी मेनुका पौडेलले जी टिभीबाट प्रसारण हुने सिंगिङ रियालिटी शो ‘सारेगमप’मा आफ्नो कला देखाइसकेकी छन् । उनको प्रतिभाबारे भारतीय गायक तथा संगीतकारले खुलेर तारिफ गरेका थिए ।

अहिले सोही टेलिभिजनको सारेगमप लिटल च्याम्सको मेघा राउन्डमा ११ वर्षीय प्रितम आचार्यको चर्चा सुरु भएको छ । सुनसरी इटहरीका प्रितम गायनमा निकै पोख्त छन् । उनले यसअघि मुम्बई र दिल्ली अडिसन पार गरिसकेका छन् । मेघा राउन्डमा उनले जजहरूको तर्फबाट स्ट्यान्डिङ अवेसन साथै निकै राम्रो प्रतिक्रिया पाएको भिडियो इन्स्टाग्राममा भाइरल बनेको छ । जुन भिडियोमा गायक शानलगायतका जजहरुले निकै उत्साहका साथ प्रितमलाई बोकेर उचाएका छन् ।

प्रितम आचार्य नेपालको सुरशाला आइडल जुनियरका उपविजेतासमेत हुन् । उनी इटहरीको विश्व आदर्श स्कुलमा पढ्छन् ।