पाहुना बस्न आएका भारतीय नागरिकको आज सुतेकै अवस्थामा मृत्यु

काठमाडौँ, ३ माघ । काठमाडौँ नागर्जुनमा पाहुना बस्न आएका भारतीय नागरिकको आज सुतेकै अवस्थामा मृत्यु भएको छ ।

काठमाडौँको नागर्जुन नगरपालिका–९ स्युचाटार डेरा गरी बस्ने भारतका नित्यानन्द सेठ्ठीको कोठामा पाहुना आएका २० वर्षीय प्रदीपकुमार मल्लिक मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राति खाना खाई सुतेका उनी आज बिहान ओछ्यान मै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चोरीका सामानसहित पक्राउ

काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरस्थित सुकुम्बासी टोलबाट चोरी गरेका विभिन्न सामानसहित छ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले आज जानकारी दिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ शान्तिनगरस्थित सुकुम्वासी टोल बस्ने नुवाकोटका शशी तामाङ, सर्लाहीका सरोज मगर, सोही सुकुम्वासी टोलका सुमन कलवार, काठमाडौ जोरपाटीका अजय मगर, रामेछापका भानु मगर र सर्लाहीका सुमन माझी रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले सुकुम्वासी टोलमा चेकजाँचका क्रममा उनीहरुको साथबाट चोरी गरी ल्याएको सुनको मङ्गलसुत्र, ल्यापटप दुई थान, विभिन्न कम्पनीको मोबाइल १७ थान र नगद बरामद गरेको छ ।

यता काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरबाट लुटपाट गरेको मोबाइल तीन थानसहित काठमाडौँ पेप्सीकोला बस्ने सिन्धुपाल्चोकका आयुष ठकुरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । रासस