भूगोलको अध्ययन गरेर मात्र भूमि व्यवस्थापन सम्बन्धि नीति बनाउन सुझाव

काठमाडौं। राष्ट्रियसभाका सांसदहरुले भूगोल अध्ययन गरेर मात्रै भूमि व्यवस्थापनसम्बन्धि आवश्यक नीति बनाउन सरकारसँग माग गरेका छन्।

संघीय संसदको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठक भूमि व्यवस्थासम्बन्धि कानुन कार्यान्वयनका विषयमा भएको छलफलमा बोल्दै राष्ट्रियसभाकी सांसद यूटोल तामाङले हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै भूमि व्यवस्थासम्बन्धि नीति ल्याउन सरकारसँग माग गरेका हुन्।

उनले हिमाल, पहाड र तराईमा जमिनको चक्लाबन्दी नै फरक–फरक हुने भएकाले सो सम्बन्धि नीति पनि फरक–फरक हुनुपर्ने बताए।

समितिका अर्का सदस्य एवम् राष्ट्रियसभाका सांसद ठगेन्द्रप्रकाश पुरीले संविधान अनुकूल हुनेगरी भूमि सम्बन्धि नीति संशोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए। उनले भूमिसम्बन्धि नीतिले समयको माग र आवश्यक्तालाई सम्बोधन गर्नुपर्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भूगोलको अध्ययन गरेरै भूमि सम्बन्धि नीति बनाउने प्रतिवद्धता जनाएका थिए। उनले हिमाल, पहाड र तराईलाई समेटेर एकीकृत भूमिसम्बन्धि नीति तय गर्न लागिएको पनि समितिलाई जानकारी गराए।

सचिव मैनालीले भूमिहीन किसानलाई वितरण गर्ने जमिनको तथ्यांक संकलन भइरहेको बताए। समितिले संविधान अनुकूल हुने गरी कानुन संशोधन गर्न सरकारलाई आवश्यक निर्देशन दिन भूमि सम्बन्धि कानुन कार्यान्वयनका विषयमा छलफल सुरु गरेको हो।