अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ

राजविराज, ३ माघ | धर्मी हल्फा महिला विकास क्लबले एक जना अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ । क्लबले सप्तरीको महदेवा गाउँपालिका–१ बल्थी निवासी मणिलाल गोइत यादवलाई सहयोग गरेको हो ।

यादवको घरमै गएर क्लबका अध्यक्ष एवं समाजसेवी इञ्जिनीयर सूर्यनारायण यादवले मणिलाललाई एक थान थाल, एक थान गिलास, एक थान तन्ना र एक थान धोती लगायतका सामग्री प्रदान गर्नुभएको थियो ।

तीस हजारको आँखा उपचार

आँखा उपचार केन्द्र राजविराजमा ३० हजार ५६७ को आँखा जाँच गरिएकोे छ । कार्यालय प्रमुख रामकुमार झाले राजविराज नगरपालिका–९ स्थित मलेठमा रहेको सगरमाथा चौधरी आँखा उपचार केन्द्रमा सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्मको एक वर्षसम्ममा करीब त्यति सङ्ख्यामा आँखा जाँच गराएकोे जानकारी दिनुभयो । उहाँले ती मध्ये दुई हजार ७५८ मा मोतियाविन्दु फेला परेको बताउनुभयो ।

उहाँका अनुसार सन् २०१८ भित्रमा करीब ८९९ को शल्यक्रिया भएको थियो । करीब २० बेडको उक्त अस्पतालमा अहिले दैनिक १५० देखि २०० सम्म आँखा जाँचका लागि बिरामी आउने गरेको कार्यालय प्रमख झाले जानकारी दिनुभयो ।

दुई चिकित्सकसहित नौ कर्मचारी रहेको आँखा अस्पतालमा अहिले ८० प्रतिशत नेपाली र २० प्रतिशत छिमेकी मुलुक भारतबाट आँखा उपचारका लागि बिरामी आउने गरेका छन् ।

आँखा अस्पतालमा दृष्टिदोष, नानीमा लाग्ने रोग मोतियाविन्दु र अन्य भिटामीन ‘ए’ को कमी, अन्धोपन, आँखामा चोटपटक लागेका बिरामी आउने गरेको बताउँदै यहाँ हप्ताको शुक्रबार एक दिन शल्यक्रियासमेत गरिने गरेको उहाँले जानकारी दिनभयो ।

गत वर्षको तुलनामा यस वर्ष पनि आँखा उपचार गर्ने बिरामीको सङ्ख्यामा बृद्धि हुनुका साथै आँखा शल्यक्रियाको बिरामी बढेपछि यो अस्पताललाई तत्काल सुविधासम्पन्न ५० श्ययाको बनाउनुपर्ने आवश्यकता रहेकाले सरकारी निकाय, स्थानीय तह तथा सरोकारवालालाई कार्यालय प्रमुखसहित स्थानीयवासीले माग गरेका छन् ।

गत वर्ष सन् २०१७ मा २६ हजार ४९६ बिरामीको आँखा उपचार गरिएको थियो भने ७१३ बिरामीको शल्यक्रिया गरिएको थियो । उपचार गरेकामध्ये दुई हजार ६८० मा मोतियाविन्दु फेला परेको थियो । रासस