डा. केसीको स्वास्थ्य अवस्था खस्किदै ! काठमाडौं ल्याउन पहल सुरु

काठमाडौँ माघ ३ – चिकित्सा शिक्षा सुधारको माग गरेर १६‌ औँ पटक इलाममा अनसनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनलाई काठमाडौं ल्याउन नागरिक समाजबाट पहल सुरु भएको छ ।

अनसनको नवौं दिनसम्म पनि सरकारबाट कुनै पहल नभएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा आज ११ बजे इलाम जाने भएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि काठमाडौं ल्याउने पहल गर्न उनीहरु इलाम जान लागेका हुन। डा. केसीले माने भने बिहीबार नै हेलिकप्टरबाट काठमाडौं ल्याउने स्रोतले बताएको छ।

सरकार र डा. केसी संगको यसअघिको वार्ता पनि पूर्व उपकुलपति माथेमाकै पहलमा मिलेको थियो।