नारायणहिटी दरवार अगाडीको जग्गा आङछिरिङ शेर्पाले सस्तैमा फुत्काए

काठमाडौं, २ माघ । नेपाल ट्रष्टले नारायणहिटी दरबार संग्रहालय अगाडिको जग्गा ब्यापारीलाई फाइदा हुने गरी निकै सस्तो दरमा लिजमा दिएको फेला परेको छ । राजधानीको मुटु दरबारमार्गमा रहेको ३० आना जग्गा ट्रष्टले आफ्नै आर्थिक प्रस्ताव मूल्यांकन समितिले सिफारिस गरेभन्दा ४ अर्ब ८६ करोड रुपैयाँ कममा लिजमा दिएको भेटिएको खबर आजको कान्तिपुरदैनिकमा छ।

अस्वाभाविक रुपमा मूल्य घटाएर जम्मा १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँमा जग्गा लिजमा दिइएको विषयमा आर्थिक अनियमितताको आशंका गरी महालेखा परीक्षकको कार्यालयले पनि छानविन गर्न भनेको छ ।

नारायणहिटी दरबार संग्रहालय अगाडि नेपाल ट्रष्टको नाममा १ रोपनी १४ आना जग्गा छ । यो जग्गामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको थामसेर्कु ट्रेकिङ कम्पनीले अहिले धमाधम व्यापारिक भवन निर्माण गरिरहेको छ । थामसेर्कुले ट्रष्टसँग ३० वर्षका लागि जग्गा लिजमा लिएको हो । लिजवापत थामसेर्कुले ट्रष्टलाई मासिक ३७ लाख ४९ हजार ९ सय ७२ रुपैयाँका दरले ३० वर्षमा १ अर्ब ५९ करोड ४० लाख ५२ हजार रुपैयाँ भाडा बुझाउनुपर्छ । भवन बनाउँदा लाग्ने साढे १९ करोड रुपैयाँ भने ट्रष्टले व्यहोर्ने २०७४ जेठ १४ गतेको सम्झौतामा छ । तर ट्रष्टकै आर्थिक प्रस्ताव मूल्यांकन समितिले भने यो जग्गा ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँमा लिजमा दिन सिफारिस गरेको थियो । सिफारिस उल्लंघन गर्दै ट्रष्टले ४ अर्ब ८६ करोड रुपैयाँ कममा थामसेर्कुलाई दिएको हो ।

यतिमात्र होइन, ट्रष्टले आर्थिक प्रस्ताव पेश भएको ९० दिनभित्र स्वीकृत गर्नुपर्ने कानूनी प्रावधानविपरीत थामसेर्कुको प्रस्ताव १० महिनापछि स्वीकृत गरेको पाइएको छ । प्रस्ताव स्वीकृतिदेखि मूल्यमा ठूलो आर्थिक चलखेल भएको महालेखा परीक्षकको कार्यालयको आश‌ंका छ ।

नियम र विधि मिच्दै नेपाल ट्रष्टको कार्यालयले जग्गा लिजमा दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अगाडि बढाएको छ । अख्तियारले छानविनबाट कसलाई दोषी देखाउँछ त्यो भने प्रतिक्षाको विषय भएको छ ।