चिसोले बिरामी परेका सदाको अस्पतालमा स्लाइन चढाउनसाथ मृत्यु भएपछि आफन्तद्वारा अस्पतालमै प्रदर्शन : डाक्टर र नर्सहरुको भागाभाग, मन्त्री यादवको राजीनामा माग !

काठमाडौँ, २ माघ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजिनामा माग गर्दै प्रदर्शन भएको छ ।

यादवकै चुनावी जिल्ला सप्तरीमा यादवको राजिनामा माग गर्दै सर्वसाधारणहरुले प्रदर्शन गरेका हुन् ।

सप्तरी सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा चिसो लागेर बिरामी परेका सहदेव सदाको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

बिहान उपचारका लागि अस्पतालमा भर्ना गरिएका सदाको सलाइन चढाउनासाथ मृत्यु भएको थियो । प्राप्त जानकारी अनुसार मृत्यु हुने सदाको उमेर ४० वर्ष रहेको छ भने सदा छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका स्थायी वासिन्दा हुन् ।

क्षतिपूर्तिको माग गर्दै आफन्तलगायतले प्रदर्शन गरेपछि आकस्मिक सेवा दिइरहेका डाक्टर र कर्मचारीको भागाभाग भएको थियो । प्रदर्शनकारीका अनुसार मृत सदा संघीय समाजवादी फोरमका मतदाता रहेको थिए ।