टी–२० महिला स्म्याश : थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौँ । टी–२० महिला स्म्याश क्रिकेटमा नेपालले घरेलु टिम थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले दिएको २० रनको लक्ष्य नेपालले ३।३ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। ब्याटिङ अर्डरमा केही परिवर्तन गरेको नेपालको लागि ममत चौधरीले ओपनिङ गर्दै सर्वाधिक ८ रन बनाइन्। नेरी थापा ५ र डोली भट्ट २ रनमा नटबउट रहिन्।

पहिले ब्याटिङ गरेको थाइल्याण्डले १५ दशमलब ४ ओभरको खेलमा १९ रन जोडेको थियो। थाइल्याण्डका कुनै पनि खेलाडीले नेपाली बलरसँग खुलेर खेल्न सकेनन्। थाइल्याण्डका लागि थानचोनक फोपुलुकले सर्वाधिक ४ रन, वार्ली सेनसङले ३ तथा मनातासेवै जेटोले २ रन बनाए।

नेपालका लागि बलर आरती विडारीले ३, इन्दु बर्मा र सरिता मगरले दुई–दुई विकेट लिँदा रुबिना क्षेत्री, सीता रानामगर र सोनु खड्काले एक–एक विकेट लिए। समूहमा सबै चार खेले जितेको नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको छ। नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ।