पुनर्जन्म पाउनुभएका सोनिस कखरा चिन्दै

काठमाडौँ। भक्तपुर महाकालस्थान ब्यासीका सोनिस अवाल पाँच वर्ष पुगे। २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा परी उहाँलाई २४ घण्टापछि घरको भग्नावशेषबाट जीवितै उद्धार गरिएको थियो । कतिपयले सोनिसलाई पुनर्जन्म पाउनुभएका बालक पनि भन्ने गर्छन्।


बैशाख १२ गते अर्थात् भूकम्पका दिन सोनिस चार महिना १८ दिनका शिशु थिए। भूकम्प आउँदा बुबा–आमा घर बाहिर थिए। दिदी सोनियाले भाइ सोनिसलाई बोकेर भाग्न खोज्दा लडिन्। भाइ हातबाट खस्नु र घर गल्र्याम्गुर्लुर्मु ढल्नु एकै पटक भयो ।

त्यो बेलाको त्रासदीलाई सम्झँदै १३ वर्षीया दिदी सोनिया भन्छिन, ‘‘घर लडे पनि म जोगिएँ, भाइ पुरियो।’’ भूकम्प गएको दिन सोनिसको उद्धार हुन सकेन। आमा रश्मिला र बुबा श्यामले छोराको दीर्घायुका लागि बारम्बार भगवान् पुकारे।

घरको भग्नावशेषमा एक शिशु पुरिएको खबर नेपाली सेनालाई राति नै पुगेपछि भोलिपल्ट बिहान उद्धार शुरु भयो। उद्धारमा खटिएका सेनाले करिब तीनघण्टा लगाएर जीवितै उद्धार गरी आमा–बुबाको जिम्मा लगाउँदा सोनिस मुसुक्क मुस्कुराएका थिए। त्यो बेला यो घटनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि महत्व दिएका थिए।

उद्धारमा खटिएका सेनाका अनुसार, सिलाई गर्ने मेसिन राख्ने फलामे टेबुलमुनि परेका कारण सोनिस बाँच्न सफल भएको थिए। आमा रश्मिला भन्छिन्, ‘अथक प्रयासपछि सोनिसको उद्धार भएकाले सेनाले पढाई खर्च व्यहोर्ने घोषणा पनि भएको हो।’’हाल, ब्यासीस्थित एभरेष्ट बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पठनपाठन गरिरहेका सोनिसलाई यसवर्षका लागि पढाई खर्च वापत सेनाले ५० हजार रुपियाँ प्रदान गरिसकेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख एवं प्रवक्ता यमप्रसाद ढकालले सोनिसलाई स्नातक तहसम्म सेनाले अध्ययन खर्च व्यहोर्ने बताए।

पाँच कक्षासम्म बाहिर नै पठाउनुपर्ने भएकाले वर्षको एकमुष्ट ५० हजार रुपियाँ दिने र त्यसपछि सैनिक आवासीय महाविद्यालय भक्तपुरमा निःशुल्क पठनपाठनको व्यवस्था गरिने जानकारी उनले दिए। महाविद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको मात्र पठनपाठन हुन्छ। सोनिसलाई सैनिक आवासीय महाविद्यालयमा आवास तथा पोशाकसहितको सुविधा उपलब्ध हुने छ।

महाविनाशकारी विपद्मा पुरिएका शिशुको जीवितै उद्धार गरिएको घटनालाई सेनाले सहासी र कुशलकार्यको रुपमा लिएको छ। सोही घरमा पुरिएर सोनिसका जेठो बुबाको दुई सन्तानले ज्यान गुमाएका थिए। बाक्लो वस्तीका बीचमा साँघुरो गल्ली र डोजर लगायतका उद्धार सामग्री प्रयोग गर्न समेत गाह्रो भइरहेको अवस्थामा पनि पिक, सावेल, बेल्चा र खन्तीको प्रयोगबाट सोनिसको उद्धार गरिएको थियो।

सोनिसका बुबा श्याम सवारी चालक हुनुहुन्छ भने रश्मिला गृहिणी । सेनाले गरेको यो सहयोगबाट छोराको भविष्य उज्ज्वल र सुन्दर बन्नेमा उनीहरू आशावादी छन् तर भूकम्पले भत्काएको घर उहाँहरूले अझै बनाउन सकेका छैनन्।

यही बैशाखबाट नर्सरी कक्षामा पढ्न शुरु गर्नुभएका सोनिसले आफ्नो परिचय दिन तथा कखरा र एबीसीडी लेख्न थालेका छन्। आमा रश्मिला र बुबा श्यामलाई अहिले पनि सोनिस पुरिएको घटना सम्झन र वर्णन गर्न मन लाग्दैन । उद्धार गर्दाको त्यो क्षण सम्झिँदा अवाल दम्पती गम्भीर र स्थिर छन्। त्यस्तो पीडा कसैलाई नपरोस् र त्यस्तो दिन कहिल्यै नदोहोरियोस उहाँहरूको प्रार्थना छ। गाेरखापत्र दैनिक