देवघाटमा पाँच लाख भक्तजन उपस्थित

दमौली, १ माघ | तनहँु, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्तिको अवसरमा आज पाँच लाख भक्तजनले मेला भरेका छन् ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले मेला भरेको जानकारी दिनुभयो । देवघाटमा मेला भर्न सोमबार राति १२ बजेदेखि नै भक्तजनको घुइचो लागेको थियो ।

मेलास्थल कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल बेणीमा जानको लागि चितवनको
देवघाटको झोलुङ्गेपुल, दासढुङ्गाको मोटरेबलपुल, ठिमुरा र जुगेडीको झोलुङ्गे पुलबाट भक्तजन आउन जान सक्ने व्यवस्था मिलाइएको थियो ।

चितवन र तनहँु जोड्ने देवघाटको झोलुङ्े पुलबाट एक पटकमा बढीमा ६०० जनाले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको थियो । त्यसैगरी त्रिशूली नदीमा ८० वटा डुङ्गामार्फत भक्तजनलाई वारपार गराइएको थियो ।

मेलामा स्थानीयस्तरबाट ३०० जना स्वयंसेवक परिचालन गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेले जानकारी दिनुभयो । नदीमा नुहाउँने भक्तजनको सुरक्षाको लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टिम कुरिनटारबाट खटिएको सशस्त्र प्रहरीले नदीमा डुङ्गामार्फत गस्ती गरेका थिए भने स्थानीय बोटे समुदायले पनि रेडक्रसको झन्डासहित नदीमा गस्ती गरेका थिए ।

माघे सङ्क्रान्तिको अवसरमा देवघाटमा लाग्ने मेला नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा मानिन्छ । देवघाट धामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ भन्ने गरिन्छ । बराह पुराण, स्कन्द पुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा ऋषि बशिष्ठ, विश्वमित्र, राजा जनक, राम र सिताले समेत तपश्या गरेको पुराणमा उल्लेख छ । रामले अश्वमेघ यज्ञ गरेको र सीताले धर्तीमा बिलय भएको ठाउँ पनि देवघाटलाई नै मानिन्छ । त्यस्तै पाल्पाका राजा मणीमुकन्द सेनले देवघाटमै आई ठूलो तपश्या गरेका थिए । रासस