सिरहा सहित तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै

– आलोक यादव

सिरहा,माघ १ गते। सिरहासहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ ।

सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । यस दिनलाई माघेसङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ । प्रदेश नं २ का सरकारले तिला सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदाको घोषणासमेत गरेको छ ।

इसाई धर्मअनुसार बडा दिन २५ डिसेम्बरलाई मानिन्छ तर सौर्यमास अनुसार दिन मकर सङ्क्रान्तिदेखि बढ्ने गर्दछ । मैथिली भाषामा ‘माघ के दिन बाघ’ भन्ने गरिन्छ । एक महीना लामो खरमासको समाप्ति यसै मकर सङ्क्रान्तिको दिन हुन्छ तथा यस अवधिमा रोकिएका शुभ कार्य फेरि आरम्भ गरिन्छ ।

यसै दिनदेखि दिन बढ्न तथा रात घट्न थाल्दछ । सूर्यको प्रकाशमा तेज (तापक्रम) दिनानुदिन बढ्दै जाने हुँदा अत्यधिक जाडो तथा तराईमा चल्ने शीतलहर यसै दिनदेखि दिनानुदिन अल्प हुँदै जान्छ । मकर सङ्क्रान्तिको ठूलो धार्मिक महत्व रहेको छ । यस दिन बिहानको पूण्यकालमा सबैजना पवित्र जलमा स्नान गरेर सूर्य भगवान्लाई अघ्र्यदान गरी गौदान, अन्नदान, शय्यादान, तिलादान तथा गच्छेअनुसार नगद दान गरी गौ र ब्राह्मणलाई भोजन गराएर मात्र आफूले भोजन गर्ने परम्परा रहिआएको छ ।

धनंच यो द्विजे दद्यात् अलंकृत्य पयस्विनी ।

कांस्य वस्त्रादि भियुक्त स्वर्गलोके महियते ।। (मनुस्मृति)

अर्थात् यस दिन वस्त्र ओढाइएकी तथा सिङ्गारिएकी दुधालु गाईलाई काँसको भाँडो र दक्षिणाका साथ ब्राह्मणलाई दान गर्नाले मानिस सहजै स्वर्गलोक पाउन सक्दछ ।

हेमश्रृङ्गी रौप्यशफा सुशीला वस्त्रसंयुता ।

सकांस्य पात्रा दातव्या क्षीरिणी गौस सदक्षिणा ।। (गरुडपुराण ९८) ।

अर्थात् सोझो स्वभाव भएकी दुधालु, सिङमा सुन तथा खुरमा चाँदी मढिएको गाईलाई बस्त्र ओढाएर दुहुने भाँडो र दक्षिणाका साथ ब्राह्मणलाई दान गर्दा स्वर्गलोक प्राप्ति हुन्छ ।

यस प्रकार यस दिन दानको ठूलो महत्व रहेको छ । मकर सङ्क्रान्तिको दिन घरदैलो सफा सुग्घर पारेर सकेसम्म गाईको गोबरले लिपी दान पुण्य गरी खिचडी पकाउन चामल, तील तथा अदुवा कुल देवतालाई अर्पण गर्ने चलन रहिआएको छ । भुटेको चिउरालाई गुडको चास्नीमा मुछी तयार पारिएको लड्डु तथा बन्हुइ लाइ (गुडको चास्नीमा मुछेर तयार पारिएको मुरही–भुजाको लड्डु) पनि कुल देवतालाई अर्पण गर्ने परम्परा रहेको पाइन्छ ।

यस प्रकारको लड्डु छोरीचेलीको घर कोसेलीको रूपमा पठाउने सामाजिक परम्परा छ । बुहारीको माइतीबाट पनि यस्ता कोसेली अनिवार्यरूपमा आउने गर्दछ । यस प्रकारको कोसेलीले छोरीचेलीको मान बढ्दछ । बुहारी गौरवान्वित हुन्छन् । यस अवसरमा कोसेली आएन भने छोरी बुहारीले आफ्नो मन दुखाउँछन् । अतः गरीब धनी जोसुकैले गच्छेअनुसार खिचडीको कोसेली (बन्हुइ लाइ) छोरी चेलीको घरमा अवश्य नै पठाउँछन् ।

मकर सङ्क्रान्तिको दिन घरघरमा खिचडी पाक्दछ । पाएसम्म बासमतीको चामलमा बेसार, तिल, अदुवा हालेर मन लोभ्याउने खालको खिचडी अवश्य नै पाक्दछ । यस प्रकारले पकाइने चामलको खिचडी नयाँ धानको हुनुपर्दछ किनकी पुरानो धानको खिचडी पकाउँदा खिचडी न भएर फरफराउँदो भात तयार हुन्छ । नयाँ धानको चामलको खिचडी पकाउँदा ‘मडबुझ’ भएर राम्रो जाउलो (खिचडी) तयार हुन्छ । खिचडीको साथमा मेथी, चम्सुर, पालुङ्गो, लहसुनको भुटुवा साग, आलु, काउली, भन्टाको भुजिया, पापड, अचार स्वाद मानीमानी खाइन्छ ।

मैथिली भाषामा ‘माघ मास घिव खिचडी खाउँ’ भन्ने लोकोक्ति नै छ । खिचडीमा घरको घ्यु अनिवार्यरूपमा हालिन्छ । मैथिली भाषाको अर्को उखान अनुसार–खिचडी के चार यार, पापड, दही, घिव, अचार’ । खिचडीको साथमा पापड, दही, घ्यु तथा अचार खाँदा अपूर्व स्वाद पाइन्छ भन्ने लोक मान्यता छ । घ्यु हालेको पहेँलो खिचडीमा तर लागेको सेतो दही तथा थालको वरिपरि कचौरामा लहरै राखिने साग र भुजियाको मनोरम दृश्य देखेर जो कोहीलाई खाउँखाउँ लाग्छ । त्यसमाथि अझै पापड तथा रातो भरुवा खुर्सानी र तेल चुहिँदै गरेको आँपको अचारले त भोजनलाई दिव्य नै बनाइदिन्छ ।

किसानको अगहनीको दाउनी (धान थन्काउने काम)प्रायः सिद्धिसकेको हुन्छ । खिचडीको दिन भखारी, डेहरीमा तेल, सिन्दूरले पूजा गरी त्यसको ‘आन’ (ढोका) खुल्दछ । खिचडीको दिन त्यसको पूजा गरेर खोलिन्छ । सर्वप्रथम भकारीबाट झिकिने अन्नलाइ ‘शिवअंशी’ को रूपमा गाउँघरमा रहेका शिव मन्दिरमा पठाइन्छ । त्यसपछि गच्छेअनुसार अन्न झिकेर पुरोहितलाई दान दिइन्छ । छोरीचेलीका लागि कोसेली भनेर पनि अन्न झिकेर राखिन्छ अनि मात्रै भकारीभित्रको अन्न स्वप्रयोगमा ल्याइन्छ ।