अध्यक्षको तलब सामाजिक क्षेत्रमा

बेझाड, १ माघ | पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफूले पाउने तलब भत्ता सामाजिक क्षेत्रमा खर्चनु भएको छ ।

अध्यक्ष बस्यालले गाउँपालिकाको धार्मिक, पर्यटकीय क्षेत्रको विकास, विपन्न र बोेटे समुदायका बालबालिकाको पठनपाठन, गरीब, असहाय परिवारको औषधि उपचारमा सहयोग गर्दै आउनुभएको छ ।

बस्यालले आव २०७४÷७५ को आफूले पाएको तलबबाट गाउँपालिकाभित्र रहेका विपन्न वर्गका विद्यार्थी, बोटे समु्दायका गरीब, असहायलाई न्यानो कपडा र लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असहाय बिरामीको औषधि उपचारमा सहयोग गर्नुभएको छ ।

उहाँले वडा नं २ पोखराथोकको जनता प्राथमिक विद्यालय र ३ को नारायण प्राथमिक विद्यालयका विद्यार्थीलाई जाडोको न्यानो कपडा र वडा नं २ पोखराथोक बस्ने क्यान्सर रोगबाट पीडित एक युवालाई उपचार खर्चबापत रु दश हजार सहयोग गर्नुभएको छ ।

दर्पुकमा रहेका बोटे समुदायका २५ घरपरिवारलाई रु १२ हजार बराबरको कम्बल सहयोग, गाउँपालिका–९ का आठ घर र दुई विपन्न घरपरिवारलाई बाख्रा पँैचो कार्यक्रमका निम्ति रु ५० हजार सहयोग गरेको उहाँले बताउनुभयो । रासस