मुख्यमन्त्रीद्वारा मकवानपुरगढी अवलोकन

हेटौँडा, १ माघ | युरोपेली हतियारसहित नेपाल आक्रमण गर्न आएका बङ्गाली सेनालाई गोर्खाली सेनाले पराजित गरी हातहतियारसमेत हात पारेको २५६ वर्ष पुगेको उपलक्ष्यमा यही माघ १० गते विजयोत्सव आयोजना गरिने भएको छ ।

विजयोत्सव लागि मकवानपुरगढी दरबार क्षेत्रमा भग्नावशेषको व्यवस्थापन, जीर्णोद्धार तथा पुनःनिर्माण एवं सरसफाइ भइरहेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विजयोत्सवको तयारीबारे अवलोकन गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । माघ १० गते विजयोत्सवको कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी विद्यादेवी मकवानपुरगढी आउनुहुने कार्यक्रम छ ।

विसं १८१९ माघ १० गते गोरखाली सेनासँग युद्ध गर्न बङ्गालबाट आएका नबाव कसिमअलि खानको फौजलाई पृथ्वीनाराण शाहको फौजले हराएकोे दिनलाई विजयोत्सवका रूपमा मनाउन थालिएको होे । विजयोत्सव तयारीका लागि काम तीव्ररुपमा भइरहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो ।

हाल नेपाली सेनाको पुरानो गोरखगणका गणपति अनिल बुढाथोकीको टोलीसहित उक्त गाउँपालिकाले विजयोत्सवका लागि तयारी गरिरहेको हो । गढीमा अहिले सरसफाइ तथा मर्मतको काम भइरहेको अध्यक्ष हुमागाईंले जानकारी दिनुभयो । रासस