नवनिर्वाचित पदाधिकारीलाई सम्मान

काठमाडौँ, २८ पुस | संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) प्रदेश नं ३ कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा जेटियुसिसीका पदाधिकारीलाई सम्मान गरिएको हो । यही पुस १३ गते सम्पन्न केन्द्रको तेस्रो श्रम संसदबाट जेटियुसिसीको अध्यक्षमा नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद श्रेष्ठ निर्वाचित हुनुभएको थियो ।

कार्यक्रममा जेटियुसिसीको अध्यक्ष श्रेष्ठ, महासचिवमा पल्टन ठाकुर, महिला सचिव निष्ठा श्रेष्ठ र महिला प्रमुखमा सुधा दाहाललाई सम्मानित गरिएको थियो । सो अवसरमा जिफन्टका पूर्वअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मजदूर आन्दोलनले उठाएका मुद्दा कार्यान्वयन गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

जेटियूसिसीका अध्यक्ष श्रेष्ठले ट्रेड युनियन अधिकार प्राप्तिसँगै अब राजनीतिक अधिकार प्राप्तिको दिशामा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सामूहिक भावनाको विकास गर्दै सङ्गठनलाई संस्थागत ढङ्गबाट सञ्चालन गरिने बताउनुभयो । रासस