अवैध चन्दा असुलीमा संलग्न वडाध्यक्षको नाममा पक्राउ पुर्जी जारी !

कानेपोखरी, २८ पुस । कानेपोखरी गाउँपालिकाका एक वडाध्यक्षलाई चन्दा असुलीको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरणसिंह गुरुङले क्रसर उद्योग, ढुंगागिट्टी, बालुवा निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीको अनुमति दिएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरेको हो ।

वडाध्यक्ष गुरुङले कानेपोखरी–५ को चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्रयाक्टर र ट्रिपरबाट पैसा असुल गर्न अनुमती पत्र दिएको पाइएको छ ।

उनले प्रतिट्रिपर चन्दा स्वरुप १०० रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधरणसँग सहमति गराएका थिए । गुरुङ आफैं क्रसर व्यवसायी हुन् ।

यसअघि पनि पदको दुरुपयोग गरी अवैध ढंगले नदीजन्य वस्तुको निकासी गर्ने गरेको स्थानीयको आरोप छ ।