धर्मगुरुद्वारा यौनहिंसा भएको समाचार लेख्ने पत्रकारको हत्या भएको खुलासा

नयाँदिल्ली, २८ पुस । भारतका एक धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ ।

विवादास्पद र शक्तिशाली ती धर्मगुरुको बारेमा यौनहिंसाका समाचार लेखिदिएकोले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो ।

संसारभरी लाखौँ समर्थक रहेका धर्मगुरु गुरमित रामरहिम सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० बर्षको जेल सजाय सुनाइसकेको छ ।

अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ ।

उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो ।

सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो ।