स्रष्टाहरुले रोयल्टी खोज्दा यातायात कार्यालयमा झन्डै हातहलाहाल..(भिडियो)

काठमाडौं । स्रष्टालाई रोयल्टी राज्यलाई कर ‘प्रतिलिपि अधिकार ऐन २०५९ कार्यान्वयन गर बौद्दिक सम्पतिको संरक्षण गर’ भन्ने नाराका साथ रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत उत्पादक समाज नेपालले संयुक्त रुपमा यातायात व्यवस्था विभाग एकान्तकुनामा दबाबमुलक कार्यक्रमको आयोजना गरेको छन् ।

गीतसंगीतको सार्वजनिक प्रयोग गरेवापत सार्वजनिक यातायातले नविकरण गर्दा, रुट इजाजत लिँदा वा नामसारी गर्दा अनिवार्य रुपमा तिर्नुपर्ने रोयल्टी विगत ९ महिनादेखि लागू भए पनि उपत्यकाका यातायात कार्यालयबाट नउठेपछि स्रष्टाहरु दबाबमूलक कार्यक्रम सहित यातायात कार्यालयमा पुगेका थिए । विभागका डिजी सुबास पन्थी कार्यालयमा नआइपुगेका कारण केही समय काउन्टरमा स्रष्टाहरुले अधिकार खोज्दै नियमका पालना गरेर राज्यको कर उठाउन अनुरोध गर्दा कर्मचारीले वेवास्ता गरेपछि केहीछिन अबरुद्ध समेत भएको थियो ।

विहान ९ बजेदेखि स्रष्टाहरु यातायात व्यवस्था विभाग एकान्तकुनामा भेला भएर आफ्ना कार्यक्रमहरु अगाडि बढाउँदा सेवाग्राही, कर्मचारी र स्रष्टाबीच केही तनाव सिर्जनासमेत भएको थियो । आफूलाई यातायात व्यवसायी बताउने केही व्यक्तिले स्रष्टालाई जथाभावी रुपमा बोलेपछि स्रष्टा र ती व्यक्तिहरुबीच एकछिन तनावको अवस्थासमेत सिर्जना भएको हो । हामीले आफ्नो अधिकार खोजेका हौं भन्दै स्रष्टाहरुले अनुरोध गर्दा पनि ती व्यक्तिहरुले जथाभावी बोल्दै स्रष्टामाथि आइलागेपछि झण्डै हात हालाहालको स्थितिसमेत पैदा भएको थियो । म्युजिकखबरबाट