न्यानो कपडा र औषधि वितरण गरिएको छ

रसुवा, २७ पुस | हिमपात र जाडोबाट बच्न यहाँका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी देवर्षि सापकोटाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिबाट गोसाइँकुण्ड गाउँपालिकाको लाङ्टाङका पाँच परिवारलाई छ, आमाछोदिङ्मो गाउँपालिकाको गतलाङका ४३ परिवारलाई ६५ र चिलिमे क्षेत्रका ६ परिवारलाई नौ थान कम्बल वितरण गरिएको हो । उत्तरी रसुवामा हिमपातको याम शुरू भइसकेको छ । ग्रामीण क्षेत्रमा जाडोको असरबाट बच्न औषधिसमेत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका गतलाङ, नाकथली, लाङ्टाङ, चन्दनबारीसमेतका स्थानमा हल्का हिमपात भइसकेका कारण चिसो भारी मात्रामा बढ्दै गएको स्थानीय बासिन्दाले वताएका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्तरी रसुवामा ह्वात्तै चिसो बढेकाले समुद्रि सतहभन्दा दुई हजार ५०० मिटरभन्दा माथिको भूभागमा राखिएका चौँरीगाई धुञ्चेभन्दा तल त्रिशूली नदीको किनार आसपास क्षेत्रमा सारिसकिएको पशुपालक किसान सेनामनुर्पु घलेले जानकारी दिनुभयो । रासस