नेकपाका सांसद योगेश भट्टराईले आजसम्म घरभाडावापत लिएको पैसा फिर्ता गर्ने, यस्तो प्रेस वक्तव्य सार्बजनिक गरे (प्रेस विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको ९० हजार रुपैयाँफिर्ता गर्ने बताएका छन् ।

योगेश भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन् । उहाले आज विज्ञप्ति जारी गर्दै घरभाडा वापत आफ्नो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म १० महिनाको ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई अनुरोध गर्नुभएको हो ।

सांसद भट्टराईले संसद सचिवालयले फारम भराउँदा काठमाडौंमा घर भएको उल्लेख गरे पनि घरभाडा लिने सांसदको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आश्चर्यमा परेको बताएका छन् । ‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेख व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुख व्यक्त गर्दछु’ उनले भनेका छन् ।

भट्टराईले आफ्नो सामाजिक संजाल फेसबुकमा यस्तो निर्णय सार्बजनिक गरेका छन् :

”२०७५ मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडांैमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।

संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।

घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।
लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

खोजपत्रकारिता केन्द्र, कान्तिपुर दैनिक तथा पत्रकार मकर श्रेष्ठले हामीलाई सचेत गराउँदै जनतालाई सुसूचित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”