डेढ वर्षको छोरालाई बचाएर हिटरमा यसरी जले यी इन्जिनियर दम्पत्ति !

काठमाडौं, १६ पुस । दैवको लिला कसलाई के थाहा ? जतिबेला मन लाग्यो उतिबेला आएर टप्प टिपेर लान्छ । त्यसैले त ५ दिनको अन्तरालमा एक इन्जिनियर दम्पत्तिको ज्यान गएको छ । कारण बन्यो हिटर ।

पछिल्लो केहि दिनयता उपत्यकामा बढेको अत्याधिक जाडोका कारण प्राय सबैको कोठामा हिटर बल्छ होला । ती इन्जिनियर दम्पत्तिको पनि हिटर ताप्दा नै ज्यान गएको छ भने उनीहरुका डेढ बर्षीय छोरो घाइते भएका छन् ।

जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् ।

उनीहरु गत ५ गते हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते भएका थिए । उनीहरुका डेढ वर्षको छोरा अस्पतालमा उपचाररत छन् ।

दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन सकेको छैन । तर, घटनास्थलको प्रकृति हेर्दा हिटरको ग्यास लिक भएर आगलागी भएको देखिएको छ । ग्यास र विजुली दुवैबाट चल्ने उक्त हिटर उनीहरुले सोही दिन बनाएर ल्याएको पनि बुझिएको छ ।

हिटरबाट जलेका पुष्करको किर्तिपुर अस्पतालमा उपचारकोक्रममा पुस ११ गते ज्यान गएको थियो । यता अप्सराको पनि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा आज बिहान निधन भयो । अब बाँकी रहेका उनीहरुका डेढ बर्षका छोरा, जो यतिबेला भक्तपुर अस्पताल उपचाररत छन् र उनि खतरामुक्त रहेको जनाइएको छ ।