‘श्रीमतीले छोडेर सडकमा आएका डा.गोविन्द केसीले भनेको आधारमा सरकारले कानुन बनाउन पाईदैन’ : सामाजिक अभियन्ता विजय थापा

काठमाडौं, १६ पुस । डा.गोविन्द केसीले भनेको आधारमा सरकारले चिकित्सा शिक्षा विधेयक कुनैपनि हालतमा पास गर्न नहुने सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापाले बताएका छन् ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर थापाले आफूले ५३ दिनसम्म भोक हड्तालमा बस्दासमेत सरकारले वास्ता नगरेको गुनासो पोख्दै चिकित्सा शिक्षा विधेयक तत्काल खारेज गर्न माग गरेका छन् ।

उनले भने, ‘श्रीमतीले छोडेर सडकमा आएका डा.गोविन्द केसीले भनेको आधारमा सरकारले कानुन बनाउन पाईदैन, यदि केसी फेरी अनसनमा बसेको खण्डमा म पनि तिनको बिरुद्धमा अनसनमा बस्न तयार छु ।’

उनले अगाडी थपे, ‘कसैले पनि डा.केसीलाई हतियार बनाएर राजनीति गर्न पाईदैन, स्वास्थ्य क्षेत्रलाई प्रभावित पार्न खोजे दुर्घटना हुन्छ, कोही केसीलाई हतियार बनाएर देशलाई तहसनहस बनाउन खोज्छन् भने हामी त्यसको बिरुद्धमा उभिनेछौं ।’

थापाले डाक्टर केसीलाई कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रबीन्द्र मिश्रले बोकिरहेको पनि आरोप लगाए । केसीको पक्षमा वकालत गर्दै आएका गगन थापा र रबीन्द्र मिश्रलाई नछोड्ने थापाको चेतावनी छ । डाक्टर केसी कुनै देवता नभएको उनले टिप्पणी गरे ।