नौं जना नेतालाई मात्रै ओली-प्रचण्डले झिकाए बालुवाटार !

काठमाडौं, १६ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नौ जना नेताहरुलाई बालुवाटारमा बोलाएका छन् ।

अध्यक्षद्वयले पार्टीको सांगठानिक एकताको काम टुंगो लगाउने प्रस्ताव तयार गर्न गठित कार्यदलका नेताहरुलाई सोमबार अपरान्ह बालुवाटारमा बोलाएका हुन् ।

स्थायी कमिटीबाट गठित ९ सदस्यीय कार्यदलमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

कार्यदलको संयोजक तोकिएको छैन । अध्यक्षहरुले संयोजक तोक्ने वा कार्यदलले नै चुन्नेबारे छलफल भइरहेको समाचार स्रोतले जानकारी दिएको छ । संगठनात्मक एकतासम्बन्धी समग्र प्रस्ताव तयार गर्ने कार्यदलका सदस्य बेदुराम भुसालले बताएका छन् ।

केन्द्रीय निकायदेखि लिएर स्थानीय तहका कमिटीहरु, जनसंगठनहरुको एकतालगायत यसअघि केन्द्रीय सचिवालयले गरेका र विधिसम्मत नभएका भनिएका निर्णयको समेत अध्ययन गर्ने जनाइएको छ । विधानमा बाझिएका विषयमा पनि कार्यदलले प्रस्ताव तयार गर्ने भुसालले जानकारी दिएका छन् ।