फुटबल विश्लेषकहरु भन्छन् – ‘किर्तिमानले रोनाल्डोलाई पच्छ्याउछ !’

काठमाडौं, १६ पुस । क्रिस्टियानो रोनाल्डोलाई त्यत्तिकै फुटबलको बादशाह भनिएको होइन । उनको खेलमा देखिएको अब्बलताले यो पुष्टि गरेको हो । रोनाल्डोले अहिले सम्म तीन देशका चार क्लबमा खेलेका छन् । उनी जहाँ जान्छन्, किर्तिमान बनाइहाल्छन् ।

पोर्चुगलका रोनाल्डो वेलायत र स्पेन हुँदै अहिले इटालीमा पुगेका छन् । म्यानचेस्टर यूनाइटेड, रियल मड्रिडपछि यतिबेला रोनाल्डो यूभेन्ट्सबाट खेलिरहेका छन् ।

वेलायत र स्पेनमा त उनले अनेकौं किर्तिमान बनाए । सँगै इटालीमा समेत किर्तिमान बनाउने होडमा उनी देखिएका छन् । ३३ वर्षिया रोनाल्डो शनिबार राति साम्पडोरिया विरुद्धको खेलसँगै इटालिएन लिग सिरिएमा एकै सिजन सर्वाधिक गोलगर्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् ।

रोनाल्डो १४ गोलसहित यतिबेला लिग सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । यसअघि कुनै पोर्चुगिज खेलाडीले एक सिजन १४ गोल गरेका थिएनन् ।

रोनाल्डो यतिमै सीमित हुने पक्षमा छैनन् । उनी सिरिए सहित लिगको सर्वाधिक गोलकर्ता तथा च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ इटालीमा समेत प्रवेश गरेका हुन् ।

फुटबल विश्लेषकहरु किर्तिमानले रोनाल्डोलाई पछ्याउने विश्लेषण गर्दछन् । किनभने रोनाल्डो जहाँ पुगे किर्तिमानी रचे ।