चाइनिज पेस्तोल देखाई दिउसै लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौं, १५ पुस । चाइनिज पेस्तोल देखाई लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं कंलकी बस्ने धादिङ गल्छिका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षीय केदारप्रसाद अधिकारी र काठमाडौं चावहिल बस्ने काभ्रे भुम्जु गाउँपालिका-८ का ३० बर्षीय अन्जन उप्रेती रहेका छन् ।

श्रेष्ठको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी घटनास्थल पुगी उनीहरुलाई पक्राउ गरेको समचारमा उल्लेख गरिएको छ ।

उनीहरुको साथबाट प्रहरीले चाईनिज पेस्तोल १ थान, गोली १ राउण्ड, खुकुरी १ थान बरामद गरेको छ ।