विराटनगरमा माघी महोत्सव हुने भएको छ

विराटनगर, १५ पुस | थारु समुदायको कला, साहित्य तथा जातीय पहिचानका लागि विराटनगरमा माघी महोत्सव–२०७५ को आयोजना हुने भएको छ । थारु कल्याणकारी सभा मोरङले माघी सङ्क्रान्तीको अवसर पारेर आगामी माघ ५ गते एकदिने महोत्सवको आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

महोत्सवका संयोजक गौरब तबदारले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सवको आयोजन गर्न लागेको बताउनुभयो । विराटनगर–४ स्थित कञ्चनबारीमा आयोजना गर्ने महोत्सवमा घोंघी, बगिया, तिलको लड्डु, मुरीको लड्डु, परेबा र हाँसको मासु, माछालगायतका थारु परिकारको स्टल रहने पत्रकार सम्मेलनमा बताइएको छ ।

महोत्सवमा थारु जातिको वेषभूषा र रहनसहन झल्किने गरी वृत्तचित्र प्रदर्शन गर्ने सभाका अध्यक्ष प्रदीपभगत थारुले बताउनुभयो । महोत्सवमा थारु जातिको लोप हुन लागेको आगो ताप्ने चुलोे, वर्षी, धान राख्ने भकारी, मौडा, कोठीलगायत सामग्री प्रदर्शनीमा राखिने भएको छ ।

थारु समुदायका देशभरि बेग्लै वेषभूषा र रहनसहन हुने गर्दछ त्यही वेषभूषा र रहनसहनमा आधारित भएर तयार पारिएको वृत्तचित्र महोत्सवमा प्रस्तुत गरिने भएको छ । थारु जातिको वेषभूषा, पहिरण, गरगहना, लवाइखवाइ जस्ता मौलिक खाना हस्तकलाको प्रदर्शनबाट प्रदेश नं १ का थारु जातिबीच अपनत्वभाव वृद्धि भई सांस्कृतिक महत्व र आन्तरिक पर्यटनको वृद्धिका लागि महोत्सव गर्न लागिएको बताइएको छ ।

प्रदर्शनीमा सुनसरी, मोरङ र झापाका १० हजारभन्दा बढी थारु समुदायका व्यक्तिले अवलोकन हुने आयोजकले जनाएको छ । रासस