५ दिनदेखि बेपत्ता भएका तीन बालिका बुटवलमा भेटिए !
सुर्खेत, १५ पुस । सुर्खेतबाट बेपत्ता भएका भनिएका तीन बालिका फेला परेका छन् ।
सुर्खेतबाट ५ दिन देखि बेपत्ता भएका उनीहरु बुटवलमा फेला परेका हुन् ।
५ दिनदेखि हराएका सिम्ता गाउँपालिकाका १४ वर्षीया निशा सिंह, १५ वर्षीया यमुना खत्री, उनकी बहिनी १२ वर्षीया रिसिमा खत्रीलाई खोजी गर्ने क्रममा बुटवलको बसपार्कस्थित एक होटलमा फेला परेका हुन् ।
परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजी कार्य शुरु गरेको थियो । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार उनीहरुलाई आइतबार सुर्खेत ल्याइँदै छ ।
सिम्ता गाउँपालिका–५ आलीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत ति बालिका यही पुस १० गतेदेखि हराएका थिए ।
यमुना खत्रीको फुपुको घर बुटवल भएको र त्यहाँ जानका लागि उनीहरू गएको हुनसक्ने आफन्तले अनुमान गरेका छन् ।
ती बालिका बुटवलमा एकजनाको संरक्षणमा रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरज चौलागाईंले बताए । बालिकासहित संरक्षकत्व लिएका मानिसलाई पनि अनुसन्धानका लागि सुर्खेत बोलाइएको उनले जानकारी दिए ।
ती बालिकाहरुका बाबु रोजगारीका लागि भारतमा छन् ।