आर्सनलको पोस्टमा लिभरपुलले गर्यो गोलको बर्षा !

काठमाडौं, १५ पुस । इंगलिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलले आर्सनललाई फराकिलो अन्तरले पराजित गरेको छ ।

शनिबार राति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गरे । त्यस्तै, लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले पनि गोल गर्न सफल भए । यता, आर्सनलका लागि मैथल्यान्ड निल्सले गोल फर्काएका थिए ।

खेलको ११ औं मिनेटमा नै निल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर आर्सनलले सुरुवाती गोल गरेपनि खेल सकिदासम्म लिभरपुलले पाँच गोल गर्न सफल भयो ।

जितसंगै लिभरपुलले २० खेलबाट ५४ अंक बनाएको छ । पराजित आर्सनलको भने २० खेलबाट ३८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको १९ खेलबाट ४५ अंक रहेको छ ।