विश्व च्याम्पियन महर्जन राजधानीमा सम्मानित

काठमाडौँ, १५ पुस । विश्व च्याम्पियन महेश्वर महर्जन सम्मानित भएका छन् ।

नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महर्जनलाई शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रु एक लाख एक हजार नगदसहित सम्मान गरेको हो ।

हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक रुइतले महर्जनलाई सम्मान गर्दै मुलुकको राष्ट्रियता अहिले कमजोर भएकाले खेलाडीले राष्ट्रियतालाई उँचो बनाएर सामाजिक एकता अभिवृद्धि गर्नुपर्ने बताए ।

सम्मानित महर्जनले आफूले अन्तर्राष्ट्रिय पदक ग्रहण गर्दा देशका लागि केही गरौँ भन्ने ऊर्जा थपिने गरेको अनुभव सुनाए । खेलकूदका माध्यमबाट आफूले प्राप्त गरेको सफलता सबै नेपालीको गौरवको विषय भएको विचार व्यक्त गरे ।