सुर्खेतमा ३ किशोरी ५ दिनदेखि सम्पर्कबिहिन

सुर्खेत, १५ पुस । जिल्लाको सिम्ता गाउँपालिका–९ खानीखोलाका तीन किशाेरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

पुस १० गते नै सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट मिलन विकको गाडी चढेका उनीहरु सम्पर्कबिहिन भएका हुन् ।

हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । सम्पर्कविहीन तीनै बालिकाको खोजतलास भने तीव्ररूपमा भइरहेको उनले बताए ।

प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार उनीहरु हराएका बारे ११ गते मात्र प्रहरीलाई जानकारी हुँदा खोजतलास गर्न गारो भएको छ । अहिले भने काठमाडौँ, बुटवल, नेपालगञ्जलगायत नेपालका सबै प्रहरी चौकीमा तीनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको उनकाे भनाइ छ ।

पुस १० गते विद्यालयबाट हाफटाइममा घर आएर म्याडमले गाली गर्नुहुन्छ भन्दै हतारमा स्कूल गएकी छोरी अहिलेसम्म नफर्केकी निशाकी आमा भगवती सिंहले बताए । “निशालगायत यमुना र रिसिमा कहाँ छन् थाहा छैन”, सिंहले भने “प्रहरीलाई सोध्दा खोजतलासको काम अघि बढाएका छौँ भन्छन् ।”

प्रहरीले मिलन विकलाई सोधपुछ गर्दा उनीहरुलाई सल्लीबजारबाट निःशुल्क आफ्नो गाडीमा छिन्चु ल्याएको र बुटवल फुपूकोमा जान्छौँ भनेपछि छिन्चुबाट १९०४ नंको बसमा नेपालगञ्ज चढाइदिएको बताएका छन् । उनीहरुलाई नेपालगञ्ज लैजाने १९०४ नंको बसमा प्रहरीले बुझ्दा बालिकाले बुटवल जाने भनेकाले कोहलपुर चौराहमा बुटवल लागि छुट्न लागेको गाडीमा छोडिएको जनाइएको छ ।