हत्या अभियोगमा जेल परेका मेयरले सफाई पाएको खुसियालीमा भोलि सार्वजनिक विदा दिइने !

काठमाडौं, १४ पुस । जो चोर उसकै ठुलो स्वर, जसले पाप गर्छ उसकै फलिफाप हुन्छ, कहिँ नभएको जात्रा हाँडीगाउँको, यी आदि इत्यादि नेपाली उखान टुक्का ठ्याक्कै हाम्रो नेपाली समाज र मानिस सुहाउँदो छ । समाजमा अपराध गरेर जेल बसेका मानिसहरु जेलबाट रिहा भएपछि फुलमालाले स्वागत गर्ने हाम्रो नेपाली समाज कसरी उभो लाग्न सक्छ । जसले पाप गरेर जेलनेल भोगेर फर्केको छ उसैलाई हामीले वाहवाही गरेपछि उसले हाम्रो टाउकोमा नटेकेर अरु के गर्छ त ? यस्तै मानसिकता र ब्यबहारले हामी बिकास खोज्छौं र परिवर्तन खोज्छौं अनि कसरी सम्भव छ ।

प्रसङ्ग जोडौं छ-हत्या अभियोगमा पक्राउ परेर जन्मकैदको फैसला सुनाइएका तर ८ महिना नबित्दै सफाई पाएर जेलबाट रिहा भएका रौतहटको कहटरिया नगरपालिकाका मेयर शियाराम कुशवाहाको । जो सफाई पाए लगत्तै हेलिकप्टर चार्टर गरेर उनको गृहनगर पुगे र स्वागत थापे नगरबासीहरुबाट । त्यति सम्म त ठिकै थियो सबैले गर्दै आएको कुरा नै भयो । तर उनको कुरा त्यतिमा मात्रै सकिएन । उनि जेलबाट छुटेको अवसरमा कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

उनले एक सुचना जारी गर्दै भोलि सार्बजनिक बिदा दिएका हुन् । नगरपालिकाद्धारा शनिबार सूचनामा भनिएको छ, ‘नगरबासीका सच्चा अभिभावक नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा ज्यू सम्मानित अदालतनको मिति २०७५/०९/१३ गतको फैसलाबाट सफाई पाई निर्दोष सावित हुनु भएको खुसीयालीमा भोलि ….. विदा रहने व्यहोरा यस कार्यालयका प्रमुख स्तरीय निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेश कार्यान्वयन नभइरहेको बेला कुशवाहा कटहरियाको मेयर निर्वाचित भए ।

तर, अदालतको फैसला कार्यान्वयनका क्रममा उनी २६ वैशाखमा काठमाडौंबाट पक्राउ गरे । त्यसविरुद्ध सर्वोच्च गएका उनले शुक्रबार सफाइ पाएका थिए ।