‘विराट ट्रेड एक्स्पो’ सम्पन्न

विराटनगर, १४ पुस | बाइस करोडको आर्थिक कारोवारसहित ‘विराट ट्रेड एक्स्पो, २०१८’ आज यहाँ समापन भएको छ ।

विराटनगर महानगरपालिकाको शङ्करपुरस्थित पुस ६ गदेखि १४ गतेसम्ममा लागेको व्यापार मेलामा रु एक लाख २५ हजारले अवलोकन गरेका छन् ।

नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी २४० वटा कक्षमा दैनिक उपभोग्य वस्तुदेखि मेशिनरी पार्टपूर्जा, सवारी साधन, मोबाइल, तयारी पोशाक, कृषिजन्य पदार्थ, हस्तकलाजस्ता सामान राखिएको थियो ।

प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले उद्योग र व्यापार विकास राष्ट्रको समृद्धको आधार भएको बताउनुभयो । उहाँले छिमेकी मुलुकका उद्योगी व्यापारीको यस मेलामा सहभागिताले यहाँको उद्योगी व्यापारीमा थप उत्साह मिलेको चर्चा गर्नुभयो ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा उद्योग स्थापनालाई उच्च प्राथमिकता राखेकाले यस क्षेत्रको व्यापार घाटा न्यूनीकरण गर्न उद्यमीको महत्वपूर्ण भूमिका रहन्छ भन्नुभयो ।

पूर्वमन्त्री एवं सङ्घीय सांसद महेश बस्नेतले विराटनगरलाई प्रदेशको स्थायी राजधानी घोषणामा आफ्नो सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले विराटनगमा एउटा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र निर्माणमा सङ्घीय सरकारसँग पहल गर्ने जानकारी दिनुभयो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाको अध्यक्षतामा भएको उक्त समापन समारोह कार्यक्रममा सङ्घीय सांसद रमेशजंग रायमाझी, सङ्घका महासचिव नविन रिजाल, मेला समितिका संयोजक अनुपम राठीले मेलाले उद्योग र व्यापारमा ठूलो चहलपहल बढेकामा खुशी व्यक्त गर्नुभयो । रासस