नेपालमा हालसम्म औषधिको गुणस्तर क्लिनिकल (बायोएस्से)प्रविधिबाट मात्रै हुने गरेकोमा अब मानिसमा परीक्षण गर्ने तयारी

काठमाडौं– औषधिको गुणस्तर मानिसमा परीक्षण गरिने भएको छ । हालसम्म औषधिको गुणस्तर क्लिनिकल (बायोएस्से)प्रविधिबाट मात्रै हुने गरेकोमा पहिलोपल्ट मानवमा गर्ने तयारी थालिएको हो।

यसका लागि आवश्यक तालिम, पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)मा बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्ने सहमति भएको छ।

विहीबार औषधि व्यवस्था विभाग र आइओएमबीच सम्झौता भएको औषधि विज्ञ एवं डिपार्टमेन्ट अफ फर्माकोलोजी महाराजगञ्ज चिकित्सा क्याम्पसका सहप्राध्यापक डा प्रदीप ज्ञवालीले जानकारी दिए। डिपार्टमेन्ट अफ फर्माकोलोजी महाराजगञ्ज चिकित्सा क्याम्पसले सञ्चालन गर्ने उक्त सेन्टर स्थापनाका लागि विभागका महानिर्देशक नारायण ढकाल र आइओएमका डीन प्राडा जगदीश अग्रवालले सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौँता अनुसार विभागले सेन्टरको पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा तालिम सञ्चालनका लागि ५ करोड रुपैयाँ आइओएमलाई दिनेछ।

डा ज्ञवालीका अनुसार स्वस्थ मानिसमा गुणस्तर परीक्षण गर्ने तयारी भएको हो। परीक्षणका लागि स्वस्थ व्यक्तिलाई स्वयंसेवीका रुपमा अर्थात् हेल्दी भोलेन्टियर तयार गरिनेछ र जेनरिक औषधि नेममा औषधिको परीक्षण हुनेछ। यसरी औषधिको गुणस्तर र प्रभावकारिता पत्ता लगाइनेछ।

सेन्टर सञ्चालनका लागि क्याम्पस प्रमुख प्राडा प्रताप नारायण प्रसादको संयोजकत्वमा बायोइक्युव्यालेन्स समिति समेत गठन गरिएको छ।