कासी तिवारी हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका मेयर कुशवाहाले पाए ८ महिना नबित्दै सर्बोच्च अदालतबाट सफाई, रिहा हुनासाथ हेली चार्टर गरेर पुगे गृह जिल्ला !

काठमाडौँ, १४ पुस । कासी तिवारी हत्या काण्डमा उच्च अदालत बिरगंजले सर्वस्व सहित जन्म कैदको सजाय सुनाएको रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई ८ महिना नपुग्दै सर्बोच्च अदालतले सफाई दिएको छ ।

गत बैशाख महिनाको २६ गते काठमाडौंको बानेश्वरबाट पक्राउ परेका कुशवाहालाई शुक्रबार सर्बोच्च अदालतले सफाई दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारदा घिमिरे र डम्बर शाहिको इजलासले मेयर कुशवाहालाइ सफाइ दिएको समाचारमा जनाइएको छ ।

सफाई पाए लगत्तै उनी शनिबार काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर आफ्नो गृहजिल्ला पुगेका छन् । चार्टर गरिएको हेलिकप्टरबाट उनी सिधै जनता माध्यमिक विद्यालय कटहरियाको प्राङ्गण पुगेका हुन् ।

जनता माध्यमिक विद्यालय कटहरियाको प्राङ्गणमा पुगेका उनलाई स्थानीय नगरवासीले फुलमाला, खादा र दोसल्ला ओढाएर सियारामलाई स्वगात गरेका थिए ।