आगलागीबाट रु सात लाख क्षति भएको छ

राजविराज, १३ पुस | सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हँुदा करीब सात लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित सूर्यनारायण चौधरीको राइस मिलमा आगलागी हुँदा निजको मिलमा रहेका काठको दाउरा र मेशिनहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।

काठको दाउरा, मेशिन र केही फर्निचरका सरसमान जलेर करीब रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीका कारण भने खुलेको छैन ।

यस्तै सप्तरी विष्णुपुर गाउँपालिका–७ मा आगलागी हँुदा करीब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी रामनारायण रामको एकतल्ले कच्ची घरमा अचानक विद्युत् तार सर्ट भई आगलागी हुँदा निजको एउटा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, नगद, जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी रामले पालेका खसी, गाई र बाछा गरी तीन वटा चौपाया जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

यसैबीच दुवै ठाउँको आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिप्रकाले जनाइएको छ ।

छ सय कुखुराको चल्ला नष्ट

सप्तरी डाक्नेश्वरी नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेका कुखुराको चल्लालाई नष्ट गरिएको प्रहरीले आज जनाइएको छ ।

भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याएको ६०० कुखुराको चल्ला डाक्नेश्वरी नगरपालिका–३ तरहीबाट प्रहरीले बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, पातोले जनाएको छ ।

भारतबाट चल्ला ल्याउने व्यक्तिले प्रहरीलाई देखेपछि चल्ला छोडेर फरार भएको प्रहरीले जनाइएको छ । बरामद भएको चल्लालाई स्थानीय वडाध्यक्ष, भरभालादमी, प्रहरी र पत्रकारको रोहवरमा खाल्डो खनी नष्ट गरिएकोछ । रासस