गगन थापाले भने – ‘प्रधानमन्त्रीज्यू नबोल्नुस, काम गर्नुस्’

काठमाडौं, १३ पुस । सरकारले केही दिनअघि ल्याएको कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारसँग माग गरेका छन् ।

शुक्रबारको संसद बैठकको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो माग गरेका हुन् ।

थापाले संसदलाई छलेर सरकारले अध्यादेश ल्याएको दाबी गरे । उनले यो अध्यादेशले समाधान निकाल्नेभन्दा समस्या बल्झाइरहेको तर्क गरे ।

सांसद थापाले देउवा सरकारले यसअघि ल्याएको अध्यादेश रोकेर फेरि त्यस्तै अध्यादेश ल्याएको बताए।

‘अहिले अध्यादेश ल्याउनुभन्दा देउवा सरकारको अध्यादेश कार्यान्वयन गरेको भए समस्या समाधान भइसक्थ्यो, ’ थापाले भने, ‘तर सरकारले त्यसलाई कार्यान्वयन गरेन । नयाँ अध्यादेश ल्यायो । त्यो पनि केही नबुझी । अध्यादेश ल्याएर प्रशासन मन्त्री अध्ययन गर्न भारत जानुभयो ।’

उनले यसको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताउदै अगाडी भने, ‘हामीले कतिपटक भन्यौं- प्रधानमन्त्रीज्यू नबोल्नुस, काम गर्नुस् । तर उहाँ अहिले कि बोल कि पोलमा मात्र लागिरहनु भएको छ,’संघीय निजामति सेवा ऐन, प्रदेश सेवा ऐन नल्याइकन ल्याएको अध्यादेशको के काम ?’

‘केहीदिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो-लोकतान्त्रिक व्यवस्था भनेको छिटोछिटो विकास हुने व्यवस्था हो । यो नाच्न नजान्ने आँगन टेडो भनेजस्तै कुतर्क हो,’ थापाले भने, ‘अहिले केन्द्रदेखि स्थानीय तहसम्मका कर्मचारी आन्दोलनमा छन् । के अब उनीहरूलाई घोक्र्याएर पठाउने हो?’ भनि प्रश्न गरे ।