‘स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध’ : मुख्यमन्त्री महेन्द्रबहादुर शाही
सुर्खेत, १२ पुस । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्रष्टाको सम्मान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रतिलिपि अधिकार र रोयल्टी व्यवस्थापनमा प्रदेश सरकार’ को भूमिका विषयक अन्तक्र्रियामा बोल्दै मुख्यमन्त्री शाहीले सबै पेशा, वर्ग र समुदायको हकहित संरक्षणकै लागि सङ्घीयता आएको बताउनुभयो ।
उहाँले विज्ञान प्रविधिको समुचित प्रयोग गरेर स्रष्टाले पाउनुपर्ने रोयल्टीको व्यवस्थापन गर्न आवश्यक छ भन्नुभयो । “यसका लागि प्रदेश सरकार प्रतिबद्ध छ, स्रष्टाको शाख जोगाउन हामी तयार छौँ,” उहाँले भन्नुभयो । स्रष्टालाई खुसी दिलाउन नसके ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता नपाउने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेश कला संस्कृतिका दृष्टिले संग्राहालय भएको दाबी गर्नुभयो । कला–संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व हो । स्रष्टाको आर्थिक आधार मजबुत बनाउन पनि रोयल्टी व्यवस्थापन जरुरी छ । मन्त्री रावलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा स्रष्टाको ठूलो योगदान रहेको बताउनुभयो ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यले प्रतिलिपि अधिकारको विषयले अझै प्राथमिकता पाउन नसकेको गुनासो गर्नुभयो । “सिर्जनात्मक उद्योगको कूल गार्हस्थ्य उत्पादनमा पु¥याएको योगदान गणना हुन सकेको छैन,” उहाँले भन्नुभयो, “कानून कार्यान्वयन गर्ने निकायकै बेवास्ताले प्रतिलिपि अधिकार उल्लङ्घन गर्नेलाई मद्दत पुगेको छ ।” सङ्गीत रोयल्टी समाजका कोषाध्यक्ष लोकराज अधिकारीले प्रतिलिपि अधिकार ऐन संशोधन गर्नुपर्ने, बौद्धिक सम्पत्ति नीतिको कार्यान्वयन हुनुपर्ने र यातायात व्यवस्था निर्देशिकाको सार्वजनिक सवारीको रोयल्टीसम्बन्धी व्यवस्थामा थप स्पष्टता जरुरी रहेको बताउनुभयो । रासस