अपराध न्यूनीकरण गर्न समुदाय लक्षित कार्यक्रम आवश्यक : प्रवक्ता सुवेदी

काठमाडौँ, १२ पुस । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अपराध न्यूनीकरणमा समुदाय लक्षित कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘साइबर सुरक्षा र लागुऔषध नियन्त्रण’सम्बन्धी कार्यशालामा उहाँले सामाजिक विकृति, मादक पदार्थ सेवन र सामाजिक सञ्जालको दुरुपयोग नै अपराधको मुख्य कारण भएको हुँदा यसको न्यूनीकरणका लागि समुदाय लक्षित कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

प्रवक्ता सुवेदीले अपराध नियन्त्रण तथा अनुसन्धान र समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको उल्लेख गर्दै समाजको सहयोगबाट नै प्रहरीले आफ्नो उद्देश्य प्राप्त गर्नसक्ने धारणा व्यक्त गर्नुभयो । “कानून कार्यान्वयनमा समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले समुदायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । रासस