१५ दिनदेखि किशोरी बेपत्ता
इलाम, १५ साउन । माई नगरपालिकाकी एक बालिका १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता भएकी हुन् ।
गत असार २९ गतेबाट इलामको तीनघरे हिँडेकी बालिका बेपत्ता बनेकीले खोजी गरिदिन सबैतिर आग्रह गरिएको बालिकाका मामा दिलीप राईले जानकारी दिनुभयो । परिवारको सम्पर्कमा नआएपछि आफन्तको तिर पनि खोजी गरिएको र फेला पार्न नसकिएको राईले बताउनुभयो । बालिका झापाको ब्राइट इङ्गलिस विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै रहेकी थिइन् ।
क्यान्सर पीडितको उपचारार्थ सहयोग
फाकफोकथुम गाउँपालिका–७ एकतप्पा निवासी वीरबहादुर श्रेष्ठको उपचारका लागि ‘एकतप्पा समाजसेवा झापा’ले रु ५० हजार प्रदान गर्ने भएको छ । लामो समयदेखि मुखमुनि (च्युँडो)मा घाउ भएर क्यान्सर भएका श्रेष्ठलाई नवगठित संस्था ‘एकतप्पा समाजसेवा झापा’ले प्रदान गर्ने भएको हो ।
केही दिनअघि श्रेष्ठको उपचारकै लागि फाकफोकथुमकै एक युवाले रु ५० हजारसमेत सङ्कलन गरेर प्रदान गरेका थिए । आर्थिकस्थिति कमजोर भएका श्रेष्ठको उपचारका लागि सबैलाई आर्थिक सहयोग गर्नसमेत आग्रह गरिएको छ । श्रेष्ठको उपचारकै लागि करीब रु १२ लाख आवश्यक पर्ने भएको तर आर्थिकस्थिति कमजोर हुँदा सङ्कलनकै भरमा रकम जम्मा गर्नुपर्ने बाध्यता रहेको दाहालले बताउनुभयो । उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीबाट रकम जुट्दै रहेकोसमेत दाहालले बताउनुभयो । क्यान्सर पीडित श्रेष्ठको हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।