रत्ननगर अस्पतालमा रक्तसञ्चार सेवा

चितवन, १२ साउन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा शुरु गरिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर र अस्पतालबीच सम्झौता गरी आजदेखि सेवा सञ्चालनमा ल्याइएको हो ।

सेवाको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । मिर्गौलाको डायलासिस गराइरहेका तीनजना बिरामीलाई निःशुल्क रगत प्रदान गरी सेवा सञ्चालनमा ल्याइएको हो । योसँगै अस्पतालमा आएका बिरामी रगतको खोजीमा भरतपुरसम्म जार्नुपर्ने बाध्यता टरेको छ ।

सेवा तत्कालका लागि अस्पतालमा रहेको प्रयोगशालाबाट सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो ।

सेवाको शुभारम्भ गर्दै नगरपालिका प्रमुख वनले अहिले आकस्मिक रक्तसञ्चार केन्द्रका रुपमा स्थापना गरिएको यस सेवालाई विस्तार गरेर केन्द्रका रुपमा सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं १० का अध्यक्ष केशव आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिका उपप्रमुख विमला दुवाडी, २ का वडाध्यक्ष तिलकराज शर्मा, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, अस्पताल विकास समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी लगायतले बोल्नुभएको थियो ।

सो अस्पतालमा अहिले नियमित डायलासिस गर्ने २६ जना बिरामी रहेका छन् । रक्तसञ्चारको क्षेत्रीय कार्यालय भरतपुरमा रहेको छ । केन्द्रले माडीको बघौडा अस्पतालमा यसअघि नै आकस्मिक रक्तसञ्चार सेवा शुरु गरेको छ ।

यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा अस्पताल युनिट स्थापना गरी सेवा दिँदै आएको छ ।

हाडजोर्नी सेवा

हाडजोर्नीको शल्यक्रिया शुरु गरिएको छ । अस्पतालमा चार वर्षयता चिकित्सकको अभावमा हाडजोर्नीको शल्याक्रिया हुन सकेको थिएन ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बगालेका अनुसार अस्पताल व्यवस्थापन समितिले हाडजोर्नी विशेषज्ञ नियुक्त गरेर उपचारसँगै शल्यक्रिया शुरु गरेको हो । डा रुपेश झाको नेतृत्वमा हाडजोर्नी विभाग सञ्चालनमा ल्याइएको हो । यसअघि अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा कृष्ण पौडेल हुँदा २०७३ सालमा हाडजोर्नीको शल्यक्रिया गरिएको थियो ।

पूर्वपश्चिम राजमार्ग निकट भएकाले अस्पतालमा हाडजोर्नीका बिरामी धेरै आउने गर्दछन् । अस्पतालमा अन्य जटिल प्रकृति र प्रसूतिका शल्यक्रिया पनि हुँदै आएको छ । पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय अस्पताल भएको हो ।

बगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेशस्तरको भएसँगै ५० श्ययाको हुनेछ । २०५८ सालमा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो । हाल सो अस्पतालमा पाँचजना विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् ।

अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स–रे, एक्स–रेजस्ता सेवा उपलब्ध छन् । अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतका विशेषज्ञ सेवा दिइँदै आएको छ । बगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ ।