जेसिजद्वारा विपन्न वर्गको कोरोना बीमा

चिप्लेढुङ्गा, १६ असार । पोखरा लेडी जेसिजले ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने २० जनाको कोरोना बीमा गराइदिएको छ । कोरोना जोखिम बढ्दै गएका अवस्थामा ज्यालामजदूरी गर्नेमा जोखिन बढ्न सक्ने जनाउँदै लेडी जोसिजले प्रतिव्यक्ति रु ५० हजारको बीमा गरिदिएको जेसिजका अध्यक्ष शोभा भुजेलले जानकारी दिनुभयो ।

ठेलामा तरकारी बेच्ने, अपाङ्गता भएका र निर्माणसम्बन्धी काम गर्ने मजदूर गरी नौ पुरुष र ११ महिलाको कोरोना बीमा गरिएको हो । संस्थाले सोही अवसरमा आफ्ना ६४ सदस्यको पनि सामूहिक कोरोना बीमा गराएको छ । पोखरा लेडी जेसिज र नेपाल इन्स्योरेन्सबीच सोमबार सम्झौता भएको संस्थाका कोषाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । कम्पनीका शाखा प्रमुख प्रतीक्षा कार्कीका अनुसार बीमा गरिएको मितिले १५ दिनपछि बीमा सम्झौता कार्यान्वयन हुनेछ ।