चिनले गल्वान भ्याल्लीमा यसरी सैन्य संरचना निर्माण गरेको छ

एजेन्सी, १२ असार । भारत–चीन झ डप भएको लद्दाख क्षेत्रमा चीनले केही नयाँ भौतिक संरचनाहरू निर्माण गरिरहेको छ । हालै सार्वजनिक भएको एक उपग्रह तस्बिरले उक्त कुरा प्रष्ट्याएको बीबीसीले जनाएको छ ।

गत महिनासम्म केही नभएका ठाउँमा अहिले बंकरहरू, पालहरू र सैन्य उपकरणहरूका लागि भण्डारण कक्ष देखिन थालेका छन् । लद्दाकमा भएको झडपमा २० जना भारतीय सेनाले ज्यान गुमाएका थिए भने चिनियाँ सेनातर्फ भएको क्षतिको पुष्टि गरिएको छैन।

तनाव कम गर्न दुवै पक्षबीच वार्ता चलिरहँदा यस्तो तस्बिर सार्वजनिक भएको छ । उक्त ताजा उपग्रह तस्बिरहरू गत सोमबार अन्तरिक्ष प्रविधि कम्पनी म्यासारमार्फत खिचिएका हुन् । चीनले बनाएका संरचनाहरू जुन महिनाको सुरुमा आएका हवाई तस्बिरमा नदेखिएका समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यस विषयमा भारत र चीनले पनि कुनै प्रतिक्रिया जनाएका छैनन् ।

बुधबार भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय विदेशमन्त्री सुब्रहमण्यम जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ ईले दुवै पक्षका वरिष्ठ कमान्डरले जुन ६ तारिखमा गरेका सहमतीलाई निष्कपटताका साथ कार्यान्वय गर्नु पर्नेमा जोड दिए।

०००

रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म शक्तिमा रहन पाउने

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत आएको छ ।

झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनुहुने भएको छ । पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो ।

नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ । संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याउनु भएको हो । त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो ।

शुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भएपनि कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो । तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको जनाइएको हो । मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको थियो ।

मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । प्रत्येक कार्यकाल छ बर्षको हुने भएकाले उहाँले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ । राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप छ बर्षे दुई कार्यकाल थपेकाले उहाँको कार्यकाल अव सन् २०३६ सम्म सुनिश्चत भएको हो ।

अहिले ६७ बर्ष हुनुभएका पुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आउनुभएको छ । उहाँ रुसी जनताका विचमा अति लोकप्रिय मानिनुहुन्छ । उहाँलाई थप दुई कार्यकाल शक्तिमा राख्ने प्रस्ताव सहितको संविधान संशोधनको यो प्रस्तावलाई संसदले यसअघि नै पारित गरिसकेको छ ।